FAQs Complain Problems

मिक्लाजुंङ गाउपालिकाको संक्षिप्त परिचय

मोरङको मिक्लाजुङ गाउँपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्दछ । यसको पूर्वतर्फ ईलाम र झापा जिल्ला, पस्चिमतर्फ लेटांग नगरपालिका, उत्तरतर्फ धनकुटा र पाँचथर जिल्ला र दक्षिणतर्फ उर्लाबारी नगरपालिका रहेको छ। यो गाउँपालिका रमितेखोला र टांडी गाविसका सबै वडा तथा जाते र मधुमल्ला गाविसका केहि वडाहरु मिलाएर वि.स. २०७३ सालमा पुननिर्माण गरिएको हो । गाउँपालिका निर्माणका क्रममा साबिकको रमितेखोला गाविसलाई यसको वडा नं १, टांडी गाबिसका १,६ र ७ नं. वडालाई यसको वडा नं. २ बनाइएको छ । येसैगरी टांडीका वडा नं. २,८ र ९ लाई यसको वडा नं. ३ तथा टांडीका वडा नं. ३,४ र ५ लाई यसको वडा नं. ४ कायम गरिएको छ । नया संरचनामा जाँते गाविसको वडा नं. ३ र ४ लाई यसको वडा नं. ५ तथा मधुमल्ला गाविसका ४ र ५ नं. वडालाई यसको वडा नं. ६ बनाईएको हो । यसैगरि मधुमल्ला गाविसका वडा नं. २ लाई यसको वडा नं. ७ , वडा नं. ३ लाई ८ तथा १ र ६ लाई वडा नं. ९ कायम गरिएको छ । यसरी उत्तरपूर्वी मोरङका यी चारवटा गाविसलाई मिलाएर  मिक्लाजुङ गाउँपालिका बनाईएको छ । यस गाउँपालिकाको नाम भने गाउँपालिकाको उत्तरमा रहेको मोरङको सबैभन्दा अग्लो पहाड मिक्लाजुङको नामका आधारमा राखिएको हो। यस गाउपालिकाको कूल जनसंख्या वि.स. २०६८ सालको जनगडना अनुसार २८७०८ जना रहेको छ,जसमा १५५४९ जना महिला र १३१५९ जना पुरुष छन । मिक्लाजुङको घरपरिवार संख्या भने ६४१७ जना छ । वडागत आधारमा सबैभन्दा बडी घरपरिवार भएको वडा न. ६ हो जसमा १११९ घरपरिवार छन र सबैभन्दा कम घरपरिवार भएको वडा न. ८ हो जसमा ४५६ घरपरिवार छन । मिक्लाजुङ मोरङको ज्यादा पहाड भएको गाउँपालिका हो । मिक्लाजुङ गाउँपालिकाको क्षेत्रफल १५८.९८ वर्ग कि.मी. रहेको छ जसमा कृषियोग्य  जमिन २६२० हेक्टर छ । 

मोरङको मिक्लाजुङ गाउँपालिकामा वनक्षेत्र निकै रहेको हुनाले यहाँ जंगली जनावर पनि प्रशस्तै पाईने गरेको छ। यहाँ विभिन्न प्रकारका जिवजन्तु र चराचुरुंगीहरु पाइन्छन। मृग, खरायो, स्याल, मल्सांप्रो,ढेडु, बाँदर, लोखर्के र दुम्सी जस्ता जनवारहरु, विभिन्न प्रकारका चराचुरुंगीहरु र किटपतंगहरु यस भेगमा पाइन्छन। पुतली, कमिला, धमिरा, साप, अजिङ्गर, छेपारो र अन्य प्रकारका किरामिराका साथमा अनेक जडिबुटी पनि यहाँको वन क्षेत्रमा पाइने गर्दछन। यसरी मिक्लाजुङ गाउँपालिका जीवजन्तुका दृष्टिले निकै महत्वपुर्ण छ। मिक्लाजुङ गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा मिक्लाजुङ डाँडा, चुली पोखरी, मिक्लुबेतेनी, नेसेलुंग डाँडा आदि पर्दछन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: